प्रधानमन्त्री मोदीको भ्रमण अवधि उनलाई भेटेर दार्जीलिङ–सिक्किम गाभ्ने बिषयमा ज्ञापन पत्र बुझाउन जादै गरेका हरका बहादुर छेत्रीलाई सिक्किम प्रवेशद्बारमा रोकियो ।
कालेबुङ खबर:
कालिम्पोङ, २९ मे २०२५ — पूर्व कालिम्पोङ विधायक तथा जन आन्दोलन पार्टीका अध्यक्ष हरका बहादुर छेत्रीले दार्जीलिङलाई सिक्किममा गाभ्ने प्रस्ताव गर्दै हिमालय क्षेत्रको राजनीतिक बहसलाई पुनः तातो बनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी सिक्किमको ५०औं राज्य दिवसमा सहभागी हुन गंगटोक आउँदै गर्दा छेत्री उनलाई ज्ञापन पत्र बुझाउन सिक्किम प्रवेश गर्ने क्रममा आज बिहान रंगपो नाकामा प्रहरीद्वारा रोकिएका हुन्।
छेत्रीले प्रधानमन्त्री मोदीसँग भेट गरी दार्जीलिङ र सिक्किमबीचको ऐतिहासिक, सांस्कृतिक सम्बन्धलाई आधार बनाउँदै उक्त माग पेश गर्ने तयारी गरेका थिए।
उनको दावी अनुसार, सन् १९८६ मा भारत सरकारद्वारा प्रकाशित सेतो पुस्तिकाले दार्जीलिङको इतिहासमा सिक्किम र भुटानसँगको सम्बन्धलाई स्वीकारेको उल्लेख गरिएको छ। हालको राजनीतिक परिस्थितिमा पहाडी जनताको पहिचान जोगाउन वैकल्पिक समाधानको रूपमा छेत्रीले सिक्किमसँग गाभ्ने प्रस्तावलाई अघि सारेका हुन्।
जन आन्दोलन पार्टीको तर्फबाट उनले २०१९ मा दार्जीलिङ लोकसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए, यद्यपि उनी निर्वाचित हुन सकेनन्।
उनको यस कदमले दार्जीलिङलाई सिक्किममा गाभ्ने बहसलाई फेरि चर्काएको छ।